
हेटौंडा/स्वतन्त्र जन दवाव अभियानले नेपाल पूर्वाधार बिकास कम्पनीले जनताबाट उठाएको रकम फिर्ता गर्ने अभियान अन्तर्गत आज शुक्रबार बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुँयाललाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्री फुयाँललाई ज्ञापन पत्र बुझाउदै स्वतन्त्र जनदवाव अभियानले जनताको रकम दुरुपयोग भएको भन्दै जनताले पसना बगाएर जम्मा गरेको रकमको सुरक्षाको प्रत्याभुत सरकारले गराउनुपर्ने माग गरेको छ । स्वतन्त्र जनदवाव अभियानका संयोजक अनिलकुमार खातिले ज्ञापनपत्र पेश गर्दै जनताले खसीबोका, कुखुरा बेचेर लगाएको लगानी फिर्ता गर्नुपर्ने बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै भौतिक पूवाधार मन्त्री रामेश्वर फुयाँलले नेपाल पूर्वाधार कम्पनीले उठाएको रकमको सम्बन्धमा नेपाल सरकारले अध्ययन समिति गठन गरेको र त्यसले प्रतिबेदन बुझाएपछि निर्णय हुने धारणा ब्यक्त गर्नुभयो । २०७० कात्तिक २५ गते नेपाल पूर्वाधार कम्पनीले काम सम्पन्न गर्ने गरी हेटौडा–भिमफेदी–कुलेखानी–काठमाडौ सुरुङ मार्गको सिलान्यास गरेकोमा त्यसको ८–९ बर्ष पुगीसक्दा पनि अझै निर्माणका लागि केही काम शुरु नगर्दा जनताको २३ करोडभन्दा धेरै लगानी धरापमा परेको छ ।

