गोरखा भूकम्पको छैटौँ स्मृति दिवस मनाइँदै

टुडे संवादाता
१२ बैशाख २०७८, आईतवार १४:१९

काठमाडौँ/छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विसं २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पले आठ हजार ९७९ जनाको निधन भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए ।

भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, ५४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, ६५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो ।

यसैगरी ४१५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका १७० सम्पदासहित ९२० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका ३८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र २९९ मानव बस्तीमा क्षति पुगेको तथ्याङ्क प्राधिकरणसँग छ ।

गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।

यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।

गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ लाख ११ हजार ७५४ घरधनीले पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको लाभग्राही सूचीमा समावेश भएर सम्झौता गरेका छन् ।

हालसम्म आठ लाख १० हजार ६३५ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार बुझेका छन् । सात लाख चार हजार ४६७ लाभग्राहीले दोस्रो किस्तावापत रु एक लाख लिएका छन् । घर सम्पन्न गरेर छ लाख ३८ हजार ५४० लाभग्राहीले तेस्रो किस्ताको रु एक लाख ५० हजार लिएका छन् । चालु आर्थिक वर्षभित्र निजी आवास पुनःनिर्माणका मूलभूत काम सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ ।

निजी आवास पुनःनिर्माणका क्रममा छ लाख ३४ हजार ९७३ गुनासा आएकामा ती सबैको सम्बोधन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणबाट भएको गुनासो सुनुवाइमा पनि चित्त नबुझेमा जिल्ला तहमै पुनरावेदन दर्ता गरी पुनरावेदन समितिमार्फत समस्या समाधान गर्ने व्यवस्था मिलाइएको छ ।

जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर पुनःनिर्माणमा प्राधिकरणले करिब ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक परिचालनसहित विशेष अभियान अघि बढाएको छ । साझेदार संस्थालाई पनि यस कार्यमा परिचालन गरिएको छ । व्यापक अभियानका साथ जोखिम वर्गका लाभग्राहीको घर पुनःनिर्माण भइरहेको जनाइएको छ ।

भूकम्पपछि २९९ वटा असुरक्षित स्थानमा रहेका चार हजार ७२० लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको छ । बाह्र हजार ७८८ भूमिहीन लाभग्राहीलाई जग्गा व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण सिर्जना गरिएको छ । क्षतिगस्त ९२० सम्पदामध्ये ४९३ पुनःनिर्माण सम्पन्न भएको छ । २८८ सम्पदा पुनःनिर्माण भइरहेका छन् ।

राष्ट्रको मुख्य प्रशासनिक भवन, सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भाग प्रबलीकरण भई गत फागुन ३ गते उद्घाटन भएको छ । फागुनदेखि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनबाट नै सञ्चालन शुरु भएको छ । केशरमहल, बबरमहल, बालमन्दिर, नारायणहिटी सङ्ग्रहालय क्षेत्रमा रहेको रणोद्दीप दरबारलगायतका पुरातात्विक महत्वका दरबारको जीर्णोद्धार जारी छ ।

भूकम्पले क्षति भई मर्मत गर्नुपर्ने ४०२ गुम्बामध्ये २९४ वटा सम्पन्न भएका छन् । पुनःनिर्माण गर्नुपर्ने ८९५ मध्ये १०० वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ वटा गुम्बामध्ये ३६ वटा र १०० वर्षभन्दा कम र दुई हजार वर्ग फिटभन्दा मुनिका ६३१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ ।

भूकम्पबाट क्षतिग्रस्त कूल सात हजार ५५३ विद्यालयमध्ये ८३ प्रतिशत विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । हाल बाँकी १७ प्रतिशत विद्यालय पुनःनिर्माण भइरहेको छ । विद्यालयको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

भूकम्पले क्षतिग्रस्त कूल एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । २९६ स्वास्थ्य संस्थाको पुनःनिर्माण जारी छ । क्षति पुगेका कूल ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

भूकम्प प्रभावित विभिन्न जिल्लामा भूकम्पले असर गरेका ७६२ किमी सडक पुनःनिर्माण गर्नुपर्नेमा ५२५ किमी सडक बनेको छ । बाँकी सडकको पुनःनिर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*