हेटौंडा/पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को जोखिम बढेसँगै मकवानपुर जिल्लामा संचालन भएको सरकारी तथा निजी सबै क्षेत्रका बैंकहरु अब हप्ताको तीन दिन मात्र खुल्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले बैशाख १५ गते बुधबारबाट लागू हुने गरी सो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै भोलिदेखि लागू हुने गरी हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिनको २ बजेसम्म मात्र खुलाउने व्यवस्था गरिएको हो । उक्त बैकहरु आलोपालोका साथ संचालन गर्ने भएको हो ।
बैठकले एटिएम सेवा भने २४ घण्टामा नै संचालनमा ल्याउनेसमेत निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
यसैगरी, जिल्लामा संचालित सबै सहकारी संस्थाहरु पनि भोलिदेखि अर्को सूचना नआएसम्मको लागि हप्ताको तीन दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै संचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।