काठमाडौं/काठमाडौं उपत्यकामा निषेधाज्ञाको समयमा खाद्यान्न लगायत अत्यावश्यक सामग्री बिक्री गर्ने पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा दुई साता लम्ब्याएसँगै खाद्यान्न पसल खोल्ने समय एक घण्टा थप्ने निर्णय गरेका हुन्। खाद्यान्न पसलमा भीड लाग्न थालेकाले बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।
यसअघि निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्रै खाद्यान्न पसल खोल्न दिइएको थियो। अहिले खाद्यान्न पसलमा भीड लाग्ने गरेको छ।
त्यस्तै, निषेधाज्ञाको समयमा विवाहमा भने कडाइ गरिएको छ। घरबाहिर पार्टी प्यालेसमा विवाह गर्न रोक लगाइएको छ। यससँगै विवाहमा १० जनाभन्दा बढी सहभागी गराउने नपाइने भएको छ। यसअघि १५ जनासम्मलाई छूट दिइएको थियो।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञालाई १३ जेठसम्म लम्ब्याउने निर्णय गरेका छन्। यसअघि १६ वैशाखमा लागू भएको निषेधाज्ञा ३० वैशाखमा सकिँदै थियो।