हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको स्वामित्वमा रहेको पल्पसा सभागृहमा कोभिड संक्रमितहरुको लागि आइसोलेसन संचालन गर्ने बारे मउवासंघमा बुधबार आज दुई चरणमा छलफल भएको छ । छलफलमा मकवानपुरको निजी क्षेत्र र सामाजिक संघ संस्थाहरुले संयुक्त रुपमा कोरोना संक्रमितको लागि आईसोलेसन सञ्चालन गर्ने भएका छन् । मकवानपुर उद्योग वाणीज्य संघको नेतृत्वमा निजी क्षेत्र र सामाजिक संघसस्ंथाहरुले संयुक्त रुपमा आईसोलेसन सञ्चालन गर्ने भएको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख हरि बहादुर महत, एभरेष्ट ग्यास उद्योग प्रालिका अध्यक्ष शिव प्रसाद घिमिरे, संघमा पूर्व अध्यक्ष अरुणराज सुमार्गी, नरायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल, नारायणी यातायात कम्पनीका अध्यक्ष गोकर्ण पराजुली, , नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्ताको उपस्थिति रहेको थियो ।
छलफलमा पल्पसा सभागृहमा आइसोलेसन सेन्टर संचालनको लागि मउवासंघबाट रु. ४ लाख सहयोग गरिने संघका अध्यक्ष कृष्ण कटुवालले बताउनु भयो । संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले आइसोलेसन संचालनमा यातायातको सुविधाको लागि आफ्नो सुमो निःशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
मउवासंघका अध्यक्ष कृष्ण कटुवालको संयोजकत्वमा उपस्थित संघ÷संस्थाको प्रतिनिधि सदस्य रहने गरी आइसोलेसन सेन्टरलाई व्यवस्थापन गर्ने तय गरिएको छ । साथै घरमै आइसोलेसनमा रहेका कोभिड संक्रमितहरुको अवस्था बुझ्न, स्वास्थ्य परामर्श तथा औषधी लगायत उपलब्ध गराउन स्थल गतरुपमा पनि खट्ने तय गरिएको छ । आईसोलेसनमा रहने कोरोना संक्रमितको लागि आवश्यक अक्सिजनको लागि साहारा ग्यासले समन्वय गर्ने भएको छ । जस अनुसार आजै साहारा ग्यासका अध्यक्ष शिव घिमिरेले संघलाई २५ सिलिण्डर अक्सिजन उपलब्ध गराएको थियो भने संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले अक्सिजन भर्ने कार्यको खर्च व्यहोर्नु भएको कटुवालले जानकारी दिए ।






















