
हेटौंडा । अब कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला सम्म धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल वा प्रयोगशाला जानुपर्ने बाध्यता हटेको हो ।
जनस्वास्थ्य प्रयोगशालाले घरमै पिसिआर गर्न ‘घरमै पिसिआर परीक्षणका लागि नमूना सङ्कलन गर्ने सम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पिसिआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको संगै पिसिआर गर्दा तोकिएको शुल्कमा अतिरिक्त रु ५०० लाग्ने छ ।\यस अघि पिसिआर परीक्षणका लागि प्रयोशगाला वा अस्पताल जानुपर्ने बाध्यता रहेको थियो ।
अहिले सरकारी प्रयोगशालामा कन्ट्याक्ट टेसिङमा परेकालाई निःशुल्क र आफूखुशी पिसिआर गराउनेलाई रु एक हजार तथा निजी प्रयोगशालाले दुई हजार लिने गरेका छन् । यसरि घरमा गएर स्वाब सङ्कलन गराउने सेवा ग्राहीको विवरणसँगै स्वास्थ्यकर्मीको नाम, पद, काउन्सिल नम्बर, नमूना सङ्कलन भएको स्थान र समय खुल्ने गरी विवरण फारममा भर्नुपर्ने हुन्छ । अहिले देशभरि सरकारी र निजी गरी ९० प्रयोगशालाले पिसिआर परीक्षण गर्ने अनुमति पाएका छन् ।
