
हेटौँडा/ छोरी गुमाएर दुःखमा परेका हेटौंडा-६ शान्तिटोलका अर्जुन चौलागाईलाई २ लाख बढि आर्थिक सहयोग जुटेको छ । ऋण गरेर उपचार गराएकी छोरी गुमाएका चौलागाईलाई हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, भीमसेन पौडेल, भरत सापकोटा लगायतको सक्रियतामा २ लाख २० हजार रुपैंया आर्थिक सहयोग जुटेको हो ।
संकलित सहयोग रकम हेटौडा-६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईले दुःखमा परेका चौलागाईलाई घरमै पुगेर हस्तान्तरण गरेका छन् । भदौ २० गते पार्कमा गएको बेला लडेर घाइते भएकी चौलागाईकी ८ बर्षीया छोरी आशिकाको उपचारका क्रममा चितवनको सिएमसी अस्पतालमा मृत्यु भएको थियो । उपचारका क्रममा करिब ३ लाख रुपैंया खर्च भएको थियो । आर्थिक अवस्था कमजोर रहेका चौलागाईलाई छोरी गुमाएको पीडासंगै ऋणको बोझ रहेको जानकारी पाएपछि विभिन्न सामाजिक एवं व्यवसायिक संस्था र सर्वसाधारणबाट रकम संकलन गरिएको थियो ।
सहयोग अभियानमा स्वर्गीय विपि गणेशमान शान्ति पार्कबाट २५ हजार, हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौंडा–१६ का अध्यक्ष रामकृष्ण कोइराला, नेपाली कांग्रेस हेटौंडा–१७ का सभापति नवराज न्यौपाने, मुनलाईट इन्टरनेशनल स्कूल, उत्तमकुमार श्रेष्ठ, कोभिड रेस्पोन्स टिम, पवन तिमल्सिनाबाट जनही १० हजार रुपैंया, राजु गुरुङबाट ७ हजार रुपैंया, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोलाबाट ५ हजार, रानी सामुदायिक वन समूहबाट ५ हजार रुपैंया उपलव्ध भएको छ ।
अभियानमा विभिन्न क्षेत्रका १ सय २५ जनाले आर्थिक सहयोग गरेको भीमसेन पौडेलले जानकारी दिए ।

