खेलकुदको क्षेत्रमा देखिने गरी काम गर्छौं : डिना

हेटौंडा टुडे
२२ कार्तिक २०७९, मंगलवार १८:४६

हेटौडा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचनपश्चात जिल्लाको खेलकुद क्षेत्रमा देखिने गरी काम गर्ने बताएकी छिन् । कांग्रेसको खेलकुद समन्वय प्रचारप्रसार उपसमितिले हेटौंडामा आयोजना गरेको खेलाडी भेटघाट तथा छलफल कार्यक्रममा उनले निर्माणाधीन गौरिटार रंगशालालाई सुविधा सम्पन्न बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

‘खेल जगतलाई नेपाली कांग्रेस र गठबन्धनले महत्वपूर्ण रुपमा हेरेको छ’, उनले भनिन्, ‘देशलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान पु¥याउने खेलकुद र खेलाडीका लागि नीतिगत निर्णय गरेर अघि बढेको छ । आगामी दिनमा खेल खेलेरै सम्मानपूर्वक बाँच्ने अवस्थाको निर्माण गर्नेछौं । आवश्यक पूर्वाधार निर्माणमा जोड दिनेछौं ।’ खेलका सबै विधालाई समान महत्व दिएर आवश्यक नीति निर्माण गर्ने डिनाको भनाई थियो । मकवानपुरका मतदाताको गुनासो र समस्या सुन्न र सकेसम्म समाधान गर्नका लागि नै प्रत्यक्षतर्फ चुनावी मैदानमा होमिएको उनले जानकारी दिइन् । निर्वाचनको खेलमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउने गरी लाग्न खेलाडी एवम् प्रशिक्षकहरुलाई उनले अनुरोध गरिन् । ‘मंसिर ४ गते हुन लागेको निर्वाचनको खेलमा गठबन्धनलाई जिताउनुहोस् । तपाईं खेलकुदकर्मीले कहिल्यै निराश हुन नपर्ने गरी काम गर्नेछौं’, डिनाले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*