हेटौडा । सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका सचिन परियार, केही समय नेपाली लोकदोहोरीदेखि टेलिसिरियलसम्म निक्कै प्रयोग भएका सचिन केहीसमय यता कतै देखिएका छैनन्। हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ। सचिनको उपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्। ९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो।
अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्। उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।
सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्। उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो। टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार, खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’






















