हेटौडा । शहरी क्षेत्रमा जाडो महिनामा न्यानोका लागि धेरै प्रयोग हुने साधन हो रुम हिटर । न्यानोका लागि रुम हिटर निकै प्रभावकारी तथा सजिलो उपाय भए पनि स्वास्थ्यका हिसाबले यसका केही गम्भीर बेफाइदा पनि छन्, चाहे त्यो ग्यास हिटर होस् या इलेक्ट्रिक ।
विशेषगरी हिटरले हावामा भएको आद्रता शोषित गर्दछ र कोठामा सुक्खापन बढाउँछ । सुख्खापनका कारण नाकको मार्ग सुक्न सक्छ र यसैले रक्तस्राव पनि गराउँदछ भने सुख्खापनकै कारण छालाको एलर्जी हुने, छालामा चायाँ पर्ने जस्ता समस्या निम्तिन सक्छन् ।
त्यस्तै, ग्यास हिटरबाट उत्पादन हुने कार्वनडाइअक्साइड, कार्बन मनोअक्साइडजस्ता ग्यासको सम्पर्कमा लामो समय बस्दा शरीरलाई स्लो पोइजनको रुपमा असर गर्न सक्छन् । पर्याप्त मात्रामा हावा आसपास नहुने कोठामा ग्यास हिटर बाल्दा यसबाट निस्कने कार्बन मनोअक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ ।






















