हेटौंडा | उद्योग संघ मकवानपुरको २१ औं साधारणसभा शनिबार हेटौंडामा भएको छ । साधारणसभाको उद्घाटन् गर्दै नेपाल उद्योग परिसंघ अध्यक्ष विष्णु कुमार अग्रवालले अहिले उद्योगी र व्यावसायीहरु निकै समस्यामा परेको बताए । उद्योगीहरुले ४० देखि ७० प्रतिशत सम्म पहिलेको तुलनामा बिक्रीमा कमी आएको समेत बताएका थिए । बैकको व्याजदर बढेर अहिले उद्योगीहरु झनै समस्यामा परेको बताए ।
कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले हेटौंडा औद्योगिक क्षेत्र र बाहिरका उद्योगीहरुले भोग्नु परेका समस्याहरुका बारेमा जानकारी गराएका थिए । उनले राज्यले उद्योगीलाई हेर्ने नजरनै फरक रहेको बताउँदै केही दिन देखि औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ भएर झन समस्यामा परेको बताए ।
कार्यक्रममा नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठक, बागमती प्रदेश सभाका सदस्यहरु एकालाल श्रेष्ठ, भारती पाठक, संघका पूर्व अध्यक्षहरु लगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधीहरु, उद्योगी व्यावसायीहरु लगायतकाको सहभागिता रहेको थियो । संघका अध्यक्ष स्वागतराज प्याकुरेलको सभाध्यक्षतामा भएको सभामा मामाघर नेपाललाई ११ हजार नगद आर्थिक सहयोग गरिएको थियो ।






















