हेटौडा । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन्। आइतबार काठमाडौं आइपुगेका उनले ट्विट गर्दै नेपाल(चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्याउन भूमिका खेल्ने बताएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनले पत्रकार सम्मेलन पनि आयोजना गरेकमा थिए। त्यसक्रममा उनले चीन र नेपाल सरकारबीच भएका महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्दै द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेल्ने बताए। सबै क्षेत्रका नेपालीहरुबाट नजिक भएर काम गर्न चाहेको बताउँदै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए।
चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन्। यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको रुपमा नियुक्त गरेको थियो।






















