हेटौडा । सामान्य मानिसले पनि शरीर तताउन तातो खानपिनलाई नै माध्यम बनाउँछन्।
स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो हामीले स्वास्थ्यप्रति सजग रहेर खानपिनमा ध्यान दिन सकेको खण्डमा सुनमा सुगन्ध थपिने छ।यो मौसममा हामीले अदुवा, काजु, पिस्ता र बदाम, आलस, बेसार,सुप, चिकेन सुप जस्ता बस्तु सेवन गर्न सक्छौ। अदुवा सामान्यतया मसलाका रूपमा प्रयोग गरिने अदुवा जाडो समयमा शरीरलाई तातो बनाइराख्न अत्यन्तै गुणकारी मानिन्छ।
जाडो सुरु भएपछि तरकारीमा अदुवा राखेर खाने गर्नाले राम्रो फाइदा गर्दछ। जाडोमा त्यसै काँचो अदुवा बिहान र बेलुका सेवन गर्नुपर्छ।
काजु, बदाम र पिस्ता दैनिक सेवन गर्नाले शरीरलाई तातो बनाइ राख्छ। अरू सामान्य अवस्थामा भन्दा जाडो सुरु भएपछि काजु, पिस्ता र बदाम बढी खान सकिन्छ।
आलसलाई भुटेर पाउडर बनाउने र बिहान दूध वा पानीसँग तीनचार चम्चा खाने। खानामा पनि आलसलाई अचारका रूपमा प्रयोग गर्ने। बेलुका पनि दूध वा पानीसँग आलस खाने। आलसमा ‘ओमेगा थ्री फ्याट्टी एसिड’ हुन्छ, जसले शरीरलाई तातो बनाइ राख्छ।
बेसारले पनि शरीरलाई तातो बनाउन सहयोग पुर्याउँछ। जसले गर्दा जाडो समयमा अन्य अवस्थामा भन्दा बढी बेसार खान सकिन्छ। जाडोमा सुप बनाएर खानुपर्छ। सबैभन्दा बढी भिटामिन र खनिजको मात्रा हुने तरकारी गोलभेँडा हो। त्यसैले जाडोमा गोलभेँडाको सुप बनाएर खान सकिन्छ।
गोलभेँडाको सुपमा अदुवा र लसुनको मात्रा प्रशस्त राख्न सकिन्छ। यसरी बनाएको सुपले जाडोमा शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुग्छ। चिकेन सुपले शरीरलाई तातो दिन्छ। तपाई मांसाहारी हुनुहुन्छ भने जाडोमा चिकेन सुप बनाएर खान सकिन्छ।
जाडोमा गाजरको सेवन गर्नु स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक हुन्छ। कम चिनी हालिएको गाजरको खीर खानुपर्छ। सिट्रस फलबाट भरपूर भिटामिन सी प्राप्त हुन्छ। यिनको सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ। यसले रुघाखोकीसित लड्ने शक्तिसमेत प्रदान गर्छ।
अम्बा, गाजर, स्याउ, हरिया सागपात, सुन्तला र काँक्रा फाइदाजनक हुन्छन्। घरमा बनेको टमाटर, मिक्स भेजिटेबल र हरिया सागपातको सूप बजारमा पाइने प्याकेटको सूपभन्दा लाभदायक हुन्छ।
पानी एवं अन्य तरल पदार्थको सेवन पर्याप्त मात्रामा गर्नुपर्छ। बालबालिका तथा प्रौढहरूले चिसो खाद्य पदार्थ वा आइसक्रिम आदिको सेवनबाट जोगिनुपर्छ।
जाडो मौसममा सामान्य तापमानको भोजन सेवन गर्नुपर्छ। मुटुका रोगीले तेलयुक्त एवं तारेको खाद्यपदार्थको सेवनबाट जोगिनुपर्छ। नुनको सेवन पनि नियमित मात्रामा गर्नुपर्छ।
खाना पकाउँदा संतृप्त बसीय पदार्थको साटो असंतृप्त बसीय पदार्थ प्रयोग गर्नुपर्छ अर्थात् रिफाइन्ड, जैतुन वा तोरीको तेलमा खाना बनाउनुपर्छ।
गहुँ, जौ एवं मल्टिग्रेन आटाको प्रयोग स्वास्थ्यका दृष्टिले फाइदाजनक छ।
जाडोमा हरियो सागपात एवं अन्य फलफूलको सेवनले शरीरमा हेमोग्लोबिनको स्तर पनि सही मात्रामा कायम रहन्छ।






















