जाडो मौसममा हृदयाघातको जोखिम

हेटौंडा टुडे
२०७९ माघ ४, बुधबार १६:०० गते

हेटौडा । जाडो मौसममा स्वास्थ्यका दृष्टिकोणले मानिसहरूलाई बढी हृदयाघातको जोखिम हुन्छ। किनकि अरु मौसमभन्दा जाडोयाममा मुटुमा धेरै समस्याहरू देखिन्छन्। हुन त हृदयाघात हुने मुख्य कारक तत्वहरूमा धूमपान, मधुमेह सुगर उच्च रक्तचाप ब्लडप्रेसर, मोटोपना आदि भए पनि मौसमको बदलावसँगै हृदयाघातको जोखिम पनि बढ्दै जान्छ।
वातावरणको तापक्रम घट्दा शरीरमा एड्रिनालिन नामक पदार्थको मात्रा बढ्छ। यसबाट मुटुको कार्यभार बढ्न जान्छ।साथै जाडोमा शरीरको तापक्रम कायम राख्न पनि मुटुले बढी काम गर्नुपर्ने हुन्छ। फलस्वरुप अक्सिजनको मात्रा अपर्याप्त हुन गई हृदयाघातको सम्भावना बढ्छ।

त्यस्तै जाडो मौसममा चिल्लो खाना बढी खाने हाम्रो बानी छ। खानाको रुचि र भोक पनि बढी लाग्छ। जसले गर्दा कोलेस्टेरोल र वजन बढ्दै जान्छ। यसले हृदयाघातको जोखिमलाई बढाउँछ।

जाडोमा यी कुरामा ध्यान दिनुहोस्

घाममा बस्नुहोस्, प्रोटिनयुक्त खाना खानुहोस्

स्वस्थ मुटुको लागि शरीरमा भिटामिन ‘डी’को जरुरी रहन्छ र यो सूर्यको किरणबाट प्राप्त हुन्छ। शरीरले घामको किरण पाएन भने कोलेस्टेरोल बढ्ने वैज्ञानिक तथ्य छ।

त्यसकारण जाडोयाममा बढी समय घाममा बस्ने र भिटामिन ‘डी’युक्त खानाहरु जस्तै माछा, भटमास, दूध, अण्डा आदिको सेवन आवश्यक पर्छ।

शारीरिक व्यायाम गर्नुहोस्
त्यसैगरी जाडोमा मर्निङ्गवाकमा जानुहुन्न भन्ने भ्रम पनि छ। तर शरीर चलायमान नहुँदा हृदयाघातको सम्भावना बढ्नसक्छ।तथ्यांकअनुसार व्यायाम बन्द गरिएको दुईरतीन हप्तामै हृदयाघातको सम्भावना बढ्छ। त्यसैले जाडोमा व्यायाम गर्नुहुँदैन भन्ने भ्रम मात्र हो।

बिहान नै धेरै चिसोमा मर्निङ्गवाक नगई अलि घाम झुल्केपछि मात्र जाँदा पनि अझ धेरै राम्रो मानिन्छ। जान उचित पनि हुन्छ।त्यसैगरी व्यायाम गर्ने भन्दैमा एकैपल्ट धेरै व्यायाम गर्नुहुँदैन किनभने मुटुलाई अचानक धेरै भार पर्‍यो भने पनि हृदयाघातको सम्भावना बढ्छ। अक्सर हामीले मर्निङ्गवाक गएर फर्केको व्यक्ति घर फर्किँदा मृत्यु भयो अथवा साइक्लिङ्ग जाँदाजाँदै हृदयाघात भयो भनेर सुन्ने गरेका छौँ।

जाडोको मौसममा रगतमा रातो रक्तकण र प्लेटलेट्सको मात्रा बढ्ने हुन्छ, त्यसबाट रगतको बाक्लोपन बढ्ने गर्दछ। जाडोमा इन्फ्लुएन्जा भाइरसको संक्रमण पनि बढ्ने गर्दछ जसले गर्दा रगत बाक्लो बनाउँछ। यसको असरबाट हृदयाघातको सम्भावना बढ्छ।

यी सबै तथ्यहरूलाई हेर्दा जाडो महिनामा बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ। खासगरी धूमपान नगर्ने, घरकोठालाई न्यानो राख्ने, न्यानो कपडा लगाउने, धेरै व्यायाम नगर्ने र जाडो महिनामा खानपिनमा विशेष ध्यान दिनुपर्छ। यी कुराहरूमा ध्यान दिनसके हृदयाघातबाट बच्न सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*