हेटौंडा|उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसित नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् । बुधबार मन्त्री लिङदेनलाई भेट्न राजदूत थम्पसन मन्त्रालय पुगेका हुन् ।
त्यसक्रममा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटमा उपप्रधानमन्त्री लिङदेनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री लिङदेनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्त्वपूर्ण योगदान रहेको चर्चा गरे ।
विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको मन्त्री लिङदेनका प्रेस संयोजक रञ्जित प्रसाईंले जानकारी दिए ।






















