हेटौंडा/दशैंको मुख्य दिन विजयादशमीमा आज हिन्दु धर्मावलम्बीहरुले मान्यजनको हातबाट टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाउँदैछन्। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी आज विजयादशमीको टीका लगाइन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको जनाएको छ। टीका ग्रहणका लागि भने बिहान १०ः१९ बजे उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।
विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन साइत खोज्नु नपर्ने पनि उनी बताउँछन्। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो”, प्रा डा गौतमले भने।
आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतम बताउँछन् ।

















