राष्ट्रपति र सञ्चारमन्त्रीबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ मंसिर २०, मंगलवार १२:१० गते

हेटौंडा | सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।

कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए । साथै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुन सक्ने विश्लेषण गरिएको छ । सोमबार बसेको सत्ता गठबन्धको बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेपछि भएको यो भेट अर्थपूर्ण रुपमा लिइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*